नेपाली पत्रपत्रिका

अनलाईन् रेडियो

उपयोगी लिङ्कहरु

यसवर्ष कर्मचारीले दसैँ खर्च नपाउने !

आर्थिक वर्ष २०६७/६८ को पूर्ण बजेट नआउँदा सरकारी कर्मचारीले यसवर्ष दसैं खर्चका लागि रकम नपाउने भएका छन् । कामचलाउ सरकारले ल्याएको एकतिहाइ पेस्की बजेट त्यसबेलासम्म सकिसक्ने र नयाँ बजेट आइनसक्दा सरकारी कर्मचारीको दसैंमा पाइने खर्च नपाउने प्रायः निश्चित भएको अर्थविद्को भनाइ छ ।

प्रधानमन्त्रीले राजीनामा दिएको करिब ४६ दिन बितिसक्दा पनि देशले नयाँ प्रधानमन्त्री पाउन नसकेका कारण पूर्ण ब्ाजेट ल्याउने प्रक्रिया पनि त्यसै टरिरहेको छ । पूर्ण बजेट अभावले असोजदेखि कर्मचारीकोे मासिक तलब भुक्तानीसमेत हुन नसक्ने अर्थविद्को दाबी छ ।

रासससँगको कुराकानीमा अर्थविद्ले सरकार समयमा नबन्दा मुलुक अनिर्णयको बन्दी बन्दै गएको परिप्रेक्षमा पूर्ण बजेट आउन नसक्ने र पेस्की बजेट पनि असोजको पहिलो हप्तामा नै सकिने सम्भावना बढेको बताउनुभयो । अर्थ मन्त्रालयका वरिष्ठ सल्ल्ााहकार डा. केशव आचार्यले कर्मचारीलाई दिइने दसैंँ खर्च यसवर्ष नपाउने सम्भावना प्रचुरमात्रामा रहेको बताउनुभयो ।

उहाँले सरकारले पूर्ण बजेटको एकतिहाइ रकम मात्र पेस्की बजेटमा समावेश गरेकाले एकतिहाइ रकमले असोज महिनाको खर्च धान्न पनि गाह्रो हुने स्पष्ट पार्नुभयो । सल्लाहकार डा. आचार्यले पूर्ण बजेट नआउँदा देशमा आर्थिक मन्दी छाएको र यसको असर निजी क्षेत्रमा पनि परेका कारण सर्वसाधारणले रकम अभावमा नेपालीको महान् चाड दसैंँमा अन्य वर्षझंैँ हर्षोल्लास नहुने बताउनुभयो ।

डा. आचार्यले यस्तो भयानक आर्थिक समस्या समाधानका लागि अर्थ मन्त्रालयले बारम्बार सम्पूर्ण पार्टीका प्रतिनिधिसँग छलफल गरिरहेको र चाँडै पूर्ण बजेट ल्याउनका लागि ऐन परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्कर वज्राचार्यले भन्नुभयो-पूर्ण बजेट नआउँदा निजी क्षेत्रमा पनि गम्भीर असर पर्ने भएकाले बैङ्कमा पनि तरलताको अभाव हुँदै जान्छ र जनतामा पैसाको अभाव हुन थाल्छ, अनि दसैँमा मात्र होइन दैनिक रूपमा उपभोग्य सामान खरिद गर्नका लागि पनि रकम अभाव हुने स्थिति आउँछ ।

उहाँले हाल काम चलाउनका लागि ल्याइएको पेस्की बजेट असोजको पहिलो सातातिर नै सकिने अवस्था रहेको र कामचलाउ सरकार रहेको अवस्थामा पूर्ण बजेट आउन नसक्ने अन्तरिम संविधानमा व्यवस्था भएको बताउँदै कतिपय सरकारी संस्थाका कर्मचारीले पेस्की बजेट चाँडै सकिने भएकाले रकमको अभाव भई समयमा नै तलब नपाउने समस्या पर्नसक्ने जानकारी दिनुभयो ।

डा. वज्राचार्यले सरकारी कर्मचारीलाई प्रत्येक वर्ष दसैंँको अवसरमा एक महिनाको तलब बढी दिने प्रचलन रहे पनि रकम अभावका कारण यसवर्ष दसैँ खर्चको प्रचलन तोडिनसक्ने भएकाले पेस्की बजेट पाउनुपर्ने माग राखी कर्मचारीले आन्दोलन गर्न नहुने धारणासमेत राख्नुभयो । रासस