नेपाली पत्रपत्रिका

अनलाईन् रेडियो

उपयोगी लिङ्कहरु

मैले तीनैजना नेताको समर्थन पाएको छु : बहादुरसिंह लामा

नेपाली काङ्ग्रेस नुवाकोटको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका बहादुरसिंह लामा गएको संविधानसभा निर्वाचनमा ३ क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार थिए । मनकामना गाविस– २ का लामा मनकामना गाविसको गाविस अध्यक्ष र पार्टीमा जिल्ला उपाध्यक्षसमेत भइसकेका छन् । लामालाई पार्टीमा जातिवादी राजनीति गरेको आरोप पनि लाग्ने गरेको छ । उनी निर्माण व्यवसाय क्षेत्रमा बढी क्रियाशील व्यक्ति हुन् । यद्यपि आपूmलाई राजनीतिक परिवारकै सदस्य भन्छन् उनी । प्रजातान्त्रिक आन्दोलनका योद्धा लालवीर तामाङका नाति उनी पहिलोपटक जिल्ला सभापति पदको उम्मेदवार बनेका हुन् ।

तपाईं सभापति पदको उम्मेदवार नबन्ने चर्चा थियो । तर, अहिले आएर उम्मेदवार घोषणा गर्नुभयो नि ?

– म नेपाली काङ्ग्रेसको एउटा कार्यकर्ता हुँ । पार्टीका कार्यकर्ता, साथीहरू, शुभचिन्तकहरूको भावनाअनुसार मैले उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका साथीहरूले साथ दिन्छौँ भनेपछि मैले उहाँहरूको भावनाको कदर गर्नुपर्छ । पार्टीका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताको साथ मलाई रहेकोले पनि सभापति बन्ने बाटोमा लागेँ ।

तपाईं पहिलोपटक जिल्ला सभापति पदमा उम्मेदवार हुनुहुन्छ । विजयी भएमा तपाईंको नेतृत्वले नेपाली काङ्ग्रेस नुवाकोटलाई के फरक दिनसक्छ ?

– नेपाली काङ्ग्रेसको १२औं जिल्ला अधिवेशनबाट यदि म निर्वाचित हुने अवसर पाएँ भने मेरो नेतृत्वमा पार्टीमा हावी हुँदै गएको व्यक्तिवादी प्रवृत्तिको राजनीतिलाई निरुत्साहित बनाउनेछु । पार्टीका समग्र साथीहरूको भावनाको कदर गरेर साङ्गठनिक रूपमा पार्टीलाई सुदृढ बनाएर पार्टीको संस्थागत विकासमा सहयोग पु¥याउनेछु । सङ्गठनमा क्रियाशील साथीहरूको योगदान र निरन्तरतालाई वैज्ञानिक पद्धतिद्वारा मूल्याङ्कनको परिपाटी विकास गरी नेपाली काङ्ग्रेसलाई प्राप्त हुने सबै अवसरमा तिनै साथीहरूको सहभागिता सुनिश्चित हुने पद्धति कायम गर्नेछु ।

निर्वाचनको प्रतिस्पर्धा निकै चर्को देखिएको छ । तपाईंचाहिं सभापति पदमा विजयी हुने त्यस्ता केही आधार छन् ?

– केही आधार भएर नै म सभापतिको उम्मेदवार बनेको हुँ । मलाई नेपाली काङ्ग्रेसका यस जिल्लाका तीनैजना केन्द्रीय सदस्यको प्रत्यक्ष÷अप्रत्यक्ष समर्थन, सद्भाव र शुभकामना छ । नेकासँग आबद्ध जिल्लाका समग्र युवा युवा र नयाँ उम्मेदवारप्रति आकर्षित छन् र उनीहरू सक्षम युवा नेतृत्वको चाहन्छन् । जिल्लाको विकट बस्तीहरूमा नेपाली काङ्ग्रेसलाई क्रियाशील र जीवन्तता प्रदान गर्नुहुने ऊर्जावान साथीहरूसँग मेरो साङ्गठनिक विकास तथा भावनात्मक सामीप्यता रहेकोले यो निर्वाचनमा विजयी हुने कुरामा विश्वस्त छु ।

नुवाकोट काङ्ग्रेसमा धेरै चिरा परेको छ भनिन्छ । यदि सभापति पदमा निर्वाचित हुनुभएमा यो मतभेदलाई कसरी सहकार्यमा बदल्नुहुन्छ ?

–केही विवाद देखिएकै हुन् । यो निर्वाचनको बेला हो । पछि हामी एउटै छातामुनि भई नै हाल्छौँ । सबै क्रियाशील साथीबीच उत्पन्न भएको स्वाभाविक मतान्तरलाई प्रजातान्त्रिक ढङ्गले हल गर्नेछु । साथीहरूबीच बृहत् छलफल गरेर उनीहरूको सल्लाहअनुसार नै विषयगत मतभेदलाई समायोजन गर्नेछु । सबैको भावनालाई समेट्ने छु । काङ्ग्रेस भएकोमा गर्व गर्न सक्ने वातावरण निर्माण गर्छु ।

अहिले स्थानीयस्तरबाट नै पार्टीमा युवाहरूको प्रवेश बढी देखिएको छ । तपाईं पनि युवा हुनुहुन्छ । युवा पुस्ताले तपाईंबाट के आशा गर्ने ?

– हो अहिले पार्टीमा युवा साथीहरूको प्रवेश भएको छ । अहिलेको समय युवाहरूकै हातमा छ । अहिलेको सङ्क्रमणकालीन अवस्थामा हतियारको आडमा हुने विभिन्न आक्रमणको शृङ्खलालाई निस्तेज पार्न पनि पार्टीमा युवाको खारँचो पर्छ । पार्टीलाई क्रियाशील राख्ने भनेकै युवाहरूले हो । यदि म सभापति भएमा मेरो कार्यकालमा युवा परिचालनलाई बढी ध्यान दिनेछु । युवा वर्गको क्षमता र कार्यदक्षताको आधारमा जिम्मेवारी प्रदान गर्नेछु । पार्टीको सबै गतिविधिहरूमा युवापिँढीको सहभागिताको विकास गर्नेछु । काङ्ग्रेसका कुनै पनि नेता र कार्यकर्ताले अपमान बेहोर्नुपर्दैन । सबै सम्मानित ढङ्गले क्रियाशील हुन पाउने वातावरण बनाउनेछु ।

तपाईंको प्रतिस्पर्धा त राजनीतिमा खरिएकै व्यक्तिसँग हुन लागेको रै’छ, होइन ?

–लोकतान्त्रिक पार्टीमा चुनाव लड्ने अधिकार सबैलाई छ । म पनि काङ्ग्रेसको राजनीतिमा भिजेको मान्छे हुँ । म अरूको विषयमा टीका–टिप्पणी गर्न चाहन्न । कुरा यति हो मलाई साथीहरूले अत्यधिक बहुमतले जिताउँछन् । इच्छाहरू निर्वाचनको मैदानमा आउँछन् नै आउँदाखेरि आ–आफ्नो लगानी र हैसियतअनुसार आफूलाई कहाँ राख्नुहुन्छ । त्यो त भोलि देखिन्छ नै ।

यो निर्वाचनमा त पैसाको चलखेल निकै भएको छ भनिन्छ । त्यसमा पनि तपाईं अगाडि हुनुहुन्छ भन्ने पनि कुरो आएको छ नि ?

–पैसाको चलखेल भन्ने कुरा निराधार हल्ला हो । म पार्टीको संस्थागत हितमा काम गर्ने मान्छे । फेरि यो कुनै सामान्य मतदाताले मतदान गर्ने निर्वाचन पनि होइन नि । स्थानीय स्तरमा छानिएर आएका पार्टीको को कस्तो व्यक्ति भनेर छुट्याउन सक्ने मतदाता छन् । सेतो र कालो चिन्ने मतदातालाई उम्मेदवारले किन्ने भन्ने कुरा त आउँदै आउँदैन । उनीहरू त पार्टीका भलो चाहने असली कार्यकर्ता हुन् ।