नेपाली पत्रपत्रिका

अनलाईन् रेडियो

उपयोगी लिङ्कहरु

नुवाकोटको अलपत्र बौद्ध विहार

अशोकबाटिका (नुवाकोट) । नुवाकोटको दरबार क्षेत्रमा रहेको ऐतिहासिक महत्व बोकेको बौद्ध विहार जीर्ण अवस्थामा पुगेको छ ।
संरक्षण र सम्बद्र्धनका लागि कुनै पनि पक्षले ध्यान नदिँदा विहारका आकर्षक मूर्तिहरू बेवारिसे बनेका हुन् । विदुर नगरपालिका वडा नं. २ अशोकबाटिकामा रहेको यो बौद्ध विहार सात वर्षअधि पुनर्निर्माण गर्ने भन्दै यहाँका पुरिएका मूर्तिहरू पनि उत्खनन् गरिएको थियो । उत्खनन्पछि बेवारिसे अवस्थामा थुपारिएका आकर्षक पत्थर मूर्तिहरू संरक्षणको अभावमा हराउँदै गएका छन् ।

यो बौद्ध विहारको पहिलेको स्वरूप कस्तो थियो र कहिले बनेको भन्ने ठ्याक्कै तिथिमिति पत्ता नलागेको बौद्ध विहार जीर्णोद्धार तथा गुम्बा निर्माण समितिका तत्कालीन कोषाध्यक्ष नारायणमान डङ्गोलले जानकारी दिए । तर, यो विहार अंशु बर्माको पालामा निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । त्यतिखेर नुवाकोट पनि कान्तिपुरअन्तर्गत रहेकोेले अंशु बर्माले नै नुवाकोटमा आएर उक्त विहार निर्माण गर्न लगाएका थिए ।

यो बौद्ध विहार हिन्दू र बौद्धको तीर्थस्थल हो । यहाँ विष्णु, भैरव, सरस्वती, गणेश, नाट्यश्वरीका मूर्तिहरू रहेका छन् । बौद्ध विहार भए पनि बुद्धको मूर्ति भने चोरी भएकोले यहाँ अहिले छैन ।

यहाँ धेरै कलात्मक मूर्तिहरू थिए तर दिनदिनै हराउँदै गएको नुवाकोट सम्पदा संरक्षण मञ्चका उपाध्यक्ष पुष्कर शर्मा रिमालले बताए । स्रोत –साधनको अभावमा हिन्दू र बौद्ध धर्मको आस्थास्थलको संरक्षण गर्न नसकिएको उपाध्यक्ष शर्माले बताए ।

यहाँको मन्दिरमा वरपरका नेवार समुदायका महिलाको विवाहपछि बौद्ध विहारमा रहेको मन्दिरमा आएर सिन्दुर हाल्ने चलन अहिले पनि छ । बुद्धपूर्णिमामा यहाँ बौद्ध धर्मावलम्बीहरूको घुइँचो लाग्छ भने नाट्यश्वरीमा पूजा गर्न भक्तपुरबाट समेत नेवारहरू आउने गरेको स्थानीयवासी बताउँछन् ।

सबैको आस्थाको केन्द्र हुँदा पनि संरक्षण गर्न नसक्नु लाजमर्दो स्थिति हो । यहाँ रहेका राम्रा मूर्तिहरू त हराइसके, भएका पनि झाडीमा लडिरहेका छन् । कुनै–कुनै मूर्तिको अनुहार टुटफुट भइसकेको छ । कलाकारहरूले कडा परिश्रम गरेर ढुङ्गामा कुँदेका मूर्तिहरू फुटेर चिन्नै नसकिने गरेर विरूप भएका छन् ।

नुवाकोटको ऐतिहासिक स्थल साततले दरबार क्षेत्रनजिकै भए पनि सरंक्षणका लागि काठमाडौंमा भएको पुरातत्व विभागले चासो दिएको छेन । तर, यहाँ भएका जिल्ला विकास समिति र विदुर नगरपालिकाले पनि चासो नदिँदा दिनदिनै सरंक्षणविहीन मात्र होइन भएका मूर्तिहरूसमेत हराउँदै र नष्ट हुँदै गइरहेछ ।

सामान्य उत्खनन् गरिए पनि आर्थिक अभावमा संरक्षित रूपमा राख्न नसकिएको बौद्ध विहार जीर्णोद्धार तथा गुम्बा निर्माण समितिका तत्कालीन कोषाध्यक्ष नारायणमान डङ्गोलले बताए । यहाँ बौद्ध विहार संरक्षण, गुम्बा निर्माण, विदुरमा आकर्षक स्वागतद्वारलगायत निर्माण गर्न एक करोड १० लाख रुपैयाँको योजना त बन्यो । तर, यो योजना योजनामै सीमित भएको कोषाध्यक्ष डङ्गोलको भनाइ छ ।

अहिले त्यतिखेरका योजनाहरू कहाँ पुगे कसैलाई पत्तो छैन भने समिति पनि निष्क्रिय भइसकेको छ । राजनीतिक दलसँग आबद्ध भएका मानिसहरू अगाडि आएकोले काम सफल हुन नसकेको अलपत्र बिहार नजिकै रहेको भैरवी उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीमान श्रेष्ठको भनाइ छ ।

०५९÷६० सालतिर गरिएको उत्खननबाट भेटिएका पुराना सिक्का पुरातत्वले लगेको थियो । तर, संरक्षणका लागि भने पुरातत्वले नहेरेको स्थानीयको गुनासो छ । साततले दरबार क्षेत्र हेर्न पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डामा सुब्बाको दरबन्दी भए पनि कर्मचारी कहिल्यै नुवाकोट आउँदैनन् ।

जिल्लाको नै नमुनास्थल बन्न सक्ने यहाँको विहार अलपत्र पर्दा पनि कसैको चासो नदिनु दुःखदायी पक्ष हो । सायद यही होला नेपालीको माल पाएर पनि चाल नपाउने शैली भनेको । समयमा नै यसलाई संरक्षणको चासो नदिने हो भने भएका यी मूर्तिहरू पनि हराएर सकिन बेर छैन ।