नेपाली पत्रपत्रिका

अनलाईन् रेडियो

उपयोगी लिङ्कहरु

चौकीदारको मुखमा कैदीको मुक्का

 विदुर । जिल्ला कारागार ढुङ्गेका कैदीहरूले आफ्नै चौकीदारमाथि आक्रमण गरेका छन् । कैदीलाई शोषण गरेको भन्दै बन्दीहरूले आफ्नै चौकीदारसहित दुईजनालाई कुटपिट गरेर घाइते बनाइदिएका हुन् । कैदीहरूले चौकीदार प्रेमबहादुर थापा र अर्का बन्दी वसन्त थापालाई आक्रमण गरी गम्भीर घाइते बनाइदिएका हुन् ।

कैदी–बन्दीहरूले चौकीदार थापालाई अन्य बन्दीहरूबाट रकम माग्ने, भनेको नमानेको भन्दै शौचालयमा थुनिदिने, धम्की दिने, मानसिक यातना दिएको आरोप लगाउँदै कुटपिट गरका हुन् । गत साता भएको घटनामा घिसिङ भन्ने दिलबहादुर तामाङको नेतृत्वमा आक्रमण भएको हो ।

काठमाडांैको डिल्लीबजार सदर जेलमा ताण्डव मच्चाएका तामाङलाई रसुवा कारागार सरुवा गरिएको थियो । काठमाडौंमा अरूलाई कुटेर आतङ्क मच्चाउने तामाङलाई रसुवाका कैदीले रामधुलाई गरेपछि एक महिना नबित्दै कारागार प्रशासनले नुवाकोटमा सरुवा गराएको थियो ।

बन्दीहरूले चौकीदार थापाको साथ दिने अर्का बन्दी वसन्त थापालाई पनि कुटपिट गरी गम्भीर घाइते भएका छन् । वसन्तको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरूको त्रिशूली अस्पतालमा प्रथमिक उपचार गरी काठमाडौं लगिएको छ ।

कुटपिटबाट घाइते भएका चौकीदार थापासहित वसन्तलाई अन्य बन्दीहरूले स्थानान्तर नगरे थप कुटपिट गर्ने चेतावनी दिएपछि कारागार प्रशासनले उपचार र सुरक्षाका लागि राजधानीको डिल्लीबजार स्थानान्तर गरेको कारागार प्रमुख खगेन्द्र घिमिरेले जानकारी दिए ।
साउन १८ गते कारागार प्रशासन र कैदी–बन्दीबीच चौकीदार फेर्ने विषयमा छलफल भएको थियो । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेल, जेलर खगेन्द्र घिमिरे सहभागी थिए । कैदी बन्दीहरूले तत्कालीन चौकीदार प्रेमबहादुर थापाको अगाडि सहायक प्रजिअ र जेलरलाई गुनासो गरेका थिए । केही दिनमा नै चौकीदार फेरिदिने आश्वासन दिएर उनीहरू फर्किएको केही घन्टापछि नै कुटाकुट भएको थियो ।

आफ्नो गलत क्रियाकलाप ल्याएको भन्दै आगो भएका थापाले सहायक प्रजिअ र जेलर बाहिरिएपछि आफ्ना पक्षका केटाहरू लगाएर कुरा लगाउनेलाई तर्साउन थालेपछि उनीमाथि आक्रमण भएको थियो । नुवाकोट कारागारमा ७२ पुरुष, १३ महिला र एक नाबालकसहित ८६ जना बन्दी रहेका छन् । कारागारमा बन्दीको मागबमोजिम कारागारले चौकीदारमा रामबहादुर तामाङ, नाइकेमा बलबहादुर बुढाथोकीलाई नियुक्त गरिएको कारागारले जनाएको छ ।